विश्वका ७५ मुलुक पुगिसकेँ : उमेश श्रेष्ठ

घुमफिर कत्तिको गर्नुहुन्छ ?
पहिला असाध्यै घुमफिर गर्थें । धेरै ठाउँ पुगियो । तर, अहिले व्यस्तताले कम भएको छ । पहिला वर्षमा दुई महिनाजति घुम्थेँ । अहिले वर्षमा बढीमा १५ दिनजति घुम्छु होला । म घुमफिर गर्न रुचाउने मान्छे हुँ । साथीभाइ र परिवारसँग घुमफिर गर्दा रमाइलो हुन्छ । फ्रेस भइन्छ । दुःख–पीडा बिर्सिइन्छ ।

 नेपालको कति ठाउँ पुग्नुभयो ? 
नेपालका ६० जिल्ला पुगिसकेको छु । पूर्वको ताप्लेजुङ, पाँचथरदेखि लिएर पश्चिमको जुम्ला, डडेलधुरा, बझाङ, बाजुरा, मुगुलगायत पुगिसकेको छु । अझै घुमफिर गर्ने क्रम जारी छ ।

 सबैभन्दा बढी मन परेको ठाउँ ?
मलाई रारा धेरै राम्रो लाग्यो । पोखरा पनि मन पर्छ । कास्कीको धम्पुसदेखि टाइगर माउन्टेनसम्म पुगेको छु । खुब राम्रो ठाउँ छ । पाँचथर र ताप्लेजुङ पनि राम्रो छ । नेपालमा धेरै राम्रा ठाउँ छन् । यही नै भनेर तोक्न नसकिने अवस्था छ । जहाँ पुग्यो त्यहीँ राम्रो लाग्छ । नेपाल विश्वकै सुन्दर र आकर्षक मुलुक हो ।

 मन लागेर पनि पुग्न नसकेको ठाउँ पनि छन् ?
छन् । मन लागेर पनि डोल्पा पुग्न सकेको छैन । धेरै मान्छेले डोल्पाको बखान गर्छन् । धेरै सुन्दर र आकर्षक छ रे ! मैले तस्बिरमा देख्दा पनि आकर्षित भएको छु । डोल्पा पुग्न अलि मिहिनेत पनि गर्नुपर्छ । त्यहाँ अहिलेसम्म पर्यटकीय पूर्वाधार पनि तयार छैनन् । त्यहाँको प्राकृतिक सुन्दरताबाट पर्यटकीय लाभ लिन सक्नुपर्छ ।

 विदेशका कति ठाउँ पुग्नुभयो ?
७५ वटा मुलुक पुगिसकेको छु । आजभन्दा २५–३० वर्षअघिदेखि विदेश घुम्न थालेको हुँ । युरोप, अमेरिका, एसिया, अफ्रिका सबैतिर पुगिसकेको छु । 

 कुन–कुन मुलुक बढी मन प-यो ?
साउथ अफ्रिका, डेनमार्क, अस्ट्रिया मन प-यो । डेनमार्क सानो मुलुक हो । कृषिमा आधारित छ । धेरै मिहिनेत गर्छन् । धनी पनि छन् । अस्ट्रिया भू–परिवेष्ठित मुलुक हो । नेपालमा झैं पहाड छन् । सुन्दर मुलुक रहेछ । उसले पनि पर्यटनलाई फोकस्ड गरिरहेको छ । साउथ अफ्रिका पनि असाध्यै सुन्दर छ । 

उमेश श्रेष्ठ संस्थापक प्रिन्सिपल, लिटिल एन्जल्स स्कुल

  ट्रेकिङ पनि जानुभयो ?
पहिला–पहिला गइयो । अचेल त्यति हिँडिँदैन । ट्रेकिङ गर्दा ८–१० दिनसम्म हिँड्नुपर्छ । मैले धम्पुसलगायत धेरै ठाउँमा ट्रेकिङ गरेको छु । अब त शरीरले पनि थेग्दैन होला । नेपाललाई चिन्न र बुझ्न ट्रेकिङ गर्नुपर्छ । घुमफिर गरेपछि मात्र वास्तविक नेपाल चिन्न सकिन्छ ।

 वर्ल्ड ट्राभलरको हैसियतले विदेश र नेपालको तुलना गर्दा के पाउनुहुन्छ ?
नेपाल विश्वकै सुन्दर ठाउँ हो । पर्यटनका हिसाबले पहिलो नम्बरमा पर्छ । तर, अपेक्षित लाभ लिन सकिएको छैन, यो छुट्टै कुरा हो । यहाँ पर्यटन र हाइड्रोको खानी छ । नेपालमा पर्यटकीय पूर्वाधारको विकास गर्न सकेमा विश्वका धेरै मानिसलाई नेपाल भित्र्याउन सकिन्छ । बुढीगण्डकीजस्ता ठूला हाइड्रोपावर बनाउन सकेमा पर्यटन पनि प्रवद्र्धन गर्न सकिन्छ ।

 किन घुमफिर गर्नुपर्छ ? 
मानिसको व्यस्तता बढेको छ । स्ट्रेसमा काम गर्नुपर्छ । यस्तो अवस्थामा घुमफिर गर्दा रिल्याक्स महसुस हुन्छ । दुःख र पीडा बिर्साउँँछ । साथै, देश तथा विदेश देख्नका लागि पनि घुमफिर गर्नुपर्छ । घुमफिर गरेपछि मात्र वास्तविक विश्वबारे बुझ्न सकिन्छ । समय मिलाएर घुमफिर गरिरहनुपर्छ । छोरा–छोरीलाई पनि घुमफिर गराउनुपर्छ । घुमफिरले बच्चाहरूमा ज्ञान बढ्छ । धेरै कुरा देख्न र सिक्न पाउँछन् । 

प्रतिकृया दिनुहोस