जनताको पक्षमा उभिन्छु

मेरो निम्ति सिंहदरबारको संसद्भन्दा सडकको संसद् कम महत्वको थिएन । त्यसैले जनताको पक्षमा उभिनुपर्छ र लोकतन्त्रका लागि मेरो ज्यान पनि निछावर गर्नुपर्छ भनेर सडक–संसद्को अध्यक्षता गर्न गएको थिएँ । 

साधारण महिला हुँ
मैले आफूलाई साधारण महिलाका रूपमा लिने गरेको छु । म जुन समुदायलाई प्रतिनिधित्व गर्छु, त्यो पिछडिएको छ र त्यो गाउँ, समाज पनि पछाडि नै छ । त्यही पिछडिएको समुदायको हक, अधिकार स्थापित गर्दै उनीहरूलाई जागृत गराउने उद्देश्यले राजनीतिमा लागेकी हुँ । 

उनीहरूको जीवन कसरी सम्मानित बनाउन सकिन्छ ? कसरी सबैले उनीहरूसँग व्यवहार गर्न सक्छन्, मानवतालाई केन्द्रमा राखेर ? उनीहरूको अपेक्षा कसरी पूरा गर्न सक्छु ? अथवा मेरो भूमिका के हुन सक्छ ? यस्तै विषयमा विचार–विमर्श गर्छु र त्यसकै लागि काम गरिरहेको पनि छु । समाजमा थुप्रै समस्या छन् । ती समस्या समाधान गर्न सधैँ समाजमा सक्रिय रहने व्यक्ति हुँ । अरूको समस्या अथवा अप्ठ्यारालाई सहज बनाउन लागिपरेकी एक महिला हुँ । 

सधैँ जनताको पक्षमा हुन्छु
म सधैँ जनताको पक्षमा उभिने व्यक्ति हुँ । राजाको शासनकालमा उपसभामुख भए पनि ०६२/६३ को जनआन्दोलनमा उत्रिएकी थिएँ । सडक–संसद्को अध्यक्षता सम्हालेको थिएँ । जुन मेरो जीवनको गौरवमय क्षण हो । त्यो चुनौतीपूर्ण थियो । थ्रेटहरू आएका थिए । तर, म डराइनँ । 
जनताबाट चुनिएकी थिएँ । जनताले निर्वाचित गरेर उपसभामुख भएकी थिएँ । संसद् नरहेको अवस्थामा राजाबाट प्रधानमन्त्रीलाई अपदस्त गरेको अवस्थामा मेरो दायित्व भनेको जनताको पक्षमा उभिनु थियो । संसद् सिंहदरबारभित्र होस् वा सडकमा, जनताका पक्षमा उभिनु थियो । मेरो निम्ति सिंहदरबारको संसद्भन्दा सडकको संसद् कम महत्वको थिएन । त्यसैले जनताको पक्षमा उभिनुपर्छ र लोकतन्त्रका लागि मेरो ज्यान पनि निछावर गर्नुपर्छ भनेर सडक–संसद्को अध्यक्षता गर्न गएको थिएँ । 

सडक–संसद् बुझेका भए मलाई मौका दिन्थेनन्
मेरा लागि किन गौरवमय क्षण भयो भने संसदीय व्यवस्थाको इतिहासमा सडक–संसद् संसारमा दुई ठाउँमा मात्र भएको छ, पहिलो फ्रान्स र दोस्रो नेपालमा । यो योजना बनाएर हुने होइन, मुलुकको परिस्थितिले तय गर्ने हो । फ्रान्समा भएको सडक–संसद्को अध्यक्षता पुरुषले गरेको थियो, नेपालमा भएको सडक–संसद्को अध्यक्षता मैले गरेकी थिएँ । संसद्को सभामुख त प्रत्येक चार–पाँच वर्षमा कोही न कोही हुन्छ, तर सडक–संसद्को त कोही चाहेर पनि हुन सक्दैन । त्यसैले संसारकै संसदीय इतिहासमा त्यो अवसर पाएँ, जसले म आफूलाई भाग्यमानी ठान्छु । यदि हाम्रा पुरुष नेताहरूले संसदीय व्यवस्थामा यति महŒवपूर्ण विषय हो भन्ने थाह पाएका भए मलाई सडक–संसद्को अध्यक्षता गर्न दिन्थेनन् होला । 

भागबन्डाको कारण सभामुख भइनँ
मलाई पुनस्र्थापित संसद्को सभामुख बनाउने भनियो । चर्चा भयो । त्यो पदका लागि सक्षम पनि थिएँ । तर, भागबन्डामा लागेर मलाई सभामुख हुन दिइएन । यदि त्यत्तिखेर म सभामुख बनेको भए साउथ एसियमा पहिलो महिला सभामुख हुने थिएँ । त्यसपछि मात्रै अमेरिका र भारतमा महिलालाई सभामुख बनाइयो । अमेरिकाभन्दा पनि अगाडि महिलालाई सभामुख बनाउने राष्ट्र हुन्थ्यो । म सभामुख नहुनुको भन्दा पनि दक्षिण एसियामा महिला सभामुख बनाउने पहिलो राष्ट्र हुनबाट नेपाल वञ्चित भयो ।

सम्झौता गर्दिनँ
म नाफा–नोक्सान हेर्दिनँ । पद पाउनका लागि सम्झौता गर्दिनँ । सभामुख नबनाएपछि जलस्रोतमन्त्री बनाउन खोजे, मानिनँ । किनभने त्यो पद मलाई सभामुख नबनाइएकोमा दिँइँदै थियो । मैले पदका लागि मात्रै राजनीति गरेको होइन । सम्मानका लागि गरेकी हुँ । जनताका लागि गरेकी हुँ । मन्त्री बन्न मेरो अन्तर्आत्माले कबुल गरेन । नाम आइसकेको थियो । शपथग्रहणमा पनि बोलाइएको थियो, तर गइनँ । 

संघर्षशील छु 
म आज जुन ठाउँमा छु, आफ्नै संघर्षले छु । कामले प्रभावित भए होलान्, तर बोलीले अहिलेसम्म कसैलाई प्रभावित बनाउने कोसिस गरेकी छैन र गर्दिनँ पनि । म काम र संघर्षमा विश्वास गर्छु । मेरो कामले जनता प्रभावित होस् । उनीहरूले लाभ लिन सकून् । तर, मिडिया अथवा पार्टीका नेताहरूलाई प्रभावित पारेर मेरो फाइदाको लागि प्रयोग गरेको छैन । मैले बुझेको जीवन संघर्ष हो, म निरन्तर संघर्ष गर्न तयार छु । राजनीतिक क्षेत्र नै आफैँमा संघर्ष हो । यस क्षेत्रमा टिक्नका लागि संघर्ष गर्नैपर्छ । र, त्यो म गर्छु । 

मनमा ‘इगो’ राख्दिनँ
म सबै किसिमको प्रतिक्रिया सुन्छु । प्रतिक्रियाबाट आफ्नो कमजोरी थाहा पाउनुपर्छ भन्ने मान्यता राख्छु । जसले आफूलाई सुधार गर्ने अवसर मिल्छ । सकारात्मक प्रतिक्रियाले एकदम खुसी हुने र नकारात्मक प्रतिक्रिया नसुन्ने भन्ने हुँदैन । म पनि मानव हुँ, धेरै कमी–कमजोरी होलान्, सुधार्ने प्रयास गर्छु । जनतासँग पनि आफ्नोबारेमा बुझ्ने गरेको छु । उनीहरूको प्रतिक्रियालाई मनन गर्दै अघि बढ्ने कोसिस गर्छु । मनमा कुनै पनि किसिमको ‘इगो’ राख्दिनँ । 

समयसँगै ‘अपग्रेड’ गर्छु
समयसँगै आफूलाई ‘अपग्रेड’ गरिरहन्छु । अहिलेको हरेक विषयमा ज्ञान राख्ने कोसिस गर्छु । जो नेतृत्वमा रहने जो–कोहीले गर्न जरुरी ठान्छु । आफूभन्दा जुनियरको कुरा सुन्ने, सुझाब लिने गर्छु । समयअनुसार आफ्नो क्षमतामा वृद्धि गर्नुपर्छ । त्यसअनुसारको ज्ञान राख्नुपर्छ । 

अहिलेसम्म खाना पकाएको छैन 
मीठो खाना खान त रुचाउँछु, तर आफूले अहिलेसम्म पकाएको छैन । मैले दाल–भात, तरकारी पकाएर खाएको अथवा खुवाएको सम्झना छैन । यसप्रति रुचि नै छैन । जसले गर्दा ध्यान पनि गएन । सरसफाइ गर्न मन लाग्छ, गर्छु पनि । खाना खाएको थाल आफैँ माझ्छु, आफ्नो कपडा आफैँ धुन्छु, घरमा पुछ्नेजस्तो कामचाहिँ गर्छु । मेरो पूरा समय राजनीतिमा नै जान्छ । घरमा बस्दा नयाँ कुरा सिक्ने अथवा पढेर बस्ने गर्छु । राजनीतिभन्दा बाहेक केहीमा आबद्ध पनि भएको छैन । जीवनकै महत्वपूर्ण पाटो हो, राजनीति । जीवनको अन्तिम क्षणसम्म जनता र देशका लागि काम गर्छु । यो मेरो प्रतिबद्धता हो । 

प्रतिकृया दिनुहोस