ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने पार्टी होइन: रवि लामिछाने

 


चितवन

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताउनुभएको छ  ।पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्नुभएको हो  ।


पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको भनाइ छ । लामिछानेले आइतबार बेलुकी सामाजिक सञ्जालमा लेख्नुभएको छ , ”ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ। कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ।

 

हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ। दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु। आज अलि चाँडै सुत्छु। आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोलि ।”रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको उक्त अडियोमा सुनिन्छ ।

प्रतिकृया दिनुहोस