शंकर कँडेल आत्महत्या प्रकरण: जीवन रावल पुर्पक्षका लागि थुनामा, रूगटा अझै फरार


१९ जेठ, चितवन ।

                     पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका अभियुक्त जीवन रावललाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार  न्यायाधीश मातृका आचार्यको इजलासले  रावललाई थुनामा पठाउन आदेश दिएको हो । 

 

                   कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएको थियो । रूगटा अझसम्म पक्राउ परेका छैनन् ।

 

                      चितवन जिल्ला अदालतले आदेश गरेलगत्तै रावल भरतपुर कारागार चलान भएका छन्   । पक्राउ पर्न नसकेर फरार रहेका रूगटा अदालतमा उपस्थित भएका बखत बयान लिएर उनका लागि पनि बहस र थुनछेक आदेश हुने छ ।


कँडेल एक महिनाअघि वैशाख १९ गते साँझ नारायणगढ बेलचोकमा रहेको अनमोल फिडको कार्यालय भवनमा मृत फेला परेका थिए । आत्महत्या दुरूत्साहनका आरोपित रूगटाले कँडेल सञ्चालक रहेको अनमोल फिड गत चैतमा किनेका थिए । रावल सोही फिडका कर्मचारी हुन् । उजुरी परेका दुवै जनाविरूद्ध मंगलबार पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना मागदाबी गरेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । कँडेलले लेखेको सुसाइड नोटमा आफूले मृत्यु रोज्नुको मुख्य कारक व्यक्ति रूङ्टा नै रहेको उल्लेख गरेपछि परिवारले २ जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस